काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीले एकलौटीरुपमा विधि विपरीत स्थायी कमिटीको बैठक स्थगित गरेको निष्कर्ष निकालेका छन्। ओलीले बैठक स्थगित गरेको जानकारी गराएपछि बसेको बैठकले यस्तो निचोड निकालेको हो।
तर बहुमत सदस्य अर्थात २९ जना स्थायी कमिटीका सदस्य बालुवाटारमा भेला भएर छलफल गरेका थिए। स्थायी कमिटीको बैठक स्थगित नभएको भन्दी ती सदस्यहरु बैठक बस्दा ओली पक्षले भने गुटको भेला गरेको भन्दै आलोचना गरेका छन्। बैठकपछि बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटीको बैठक स्थगित गरेको ठहर गरेको जानकारी दिए ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, “मैले बैठक स्थगित गरेँ,म आउँदिन भन्नुभएछ । उहाँले गर्नुहुन्छ गर्नुस् भनेर भन्नुभएको भए पनि अघिल्लो बैठकले नै आजको बैठकको मिति र स्थान तय गरेकाले हामीहरु बैठक बसेका हौँ ।”
उनका अनुसार अर्को बैठक अध्यक्षद्वय ओली र दाहालको छलफलले तय गर्नेछ । बैठक सुरुअघि अध्यक्ष ओलीलाई बोलाउन पुगेका दाहाल र वरिष्ठ नेता झलनाथ खनाललाई ओलीले आफूले बैठक स्थगित गरेकाले उपस्थित नहुने जवाफ दिएका थिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थगित गरेका थिए।