रुपन्देही । लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला वोली दोषी रहेको पाइएको छ ।
राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दूव्र्यवहार सम्बन्धमा छानविन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भएपनि घरमै पुगेर दूव्र्यवहार गर्नु कमजोरी भएको छानविन समितिको ठहर छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज प्रतिवेदन हस्तान्तरण गर्दै छानविन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरुपमा अरुको घरमा जानु कमजोरी भएको बताउनुभयो । मन्त्री शर्माले एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको बताउनुभयो ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिक रुपमा राज्यमन्त्री वलीबाट कमजोरी भएको देखिएको बताउनुभयो । उहाँले प्रतिबेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उल्लेख गर्नुभयो ।
गत जेठ ३१ गते राज्यमन्त्री वलीले दाङ तुलसीपुरका वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी मिना तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्री शर्माको संयोजकत्वमा ३ सदस्सीय छानविन समिति गठन गरेको थियो ।
समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहनुभएको थियो । छानविन समितिको प्रतिवेदन आउनुअघि राज्यमन्त्री वलीले पदबाट राजीनामा दिनुभएको छ ।
नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार वलीको निधन भएपछि बिमलाले तत्कालिन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि बैशाख १९ मा उहाँले माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो ।