काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनैतिक काम भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेटमा के आयो भन्दा पनि कसरी आयो भन्ने विषयमा प्रश्न उठेको बताउँदै नेपालमा यस किसिमले बजेट निर्माण भएको पहिलो घटना भएको दाबी गर्नुभयो ।
“यो पहिलो घटना हो । बजेट बनाउने बेला सचिवहरू, अर्थ मन्त्रालयका उच्च कर्मचारीहरू मन्त्रालयमै बस्छन् । त्यहीँ खान्छन्, त्यहीँ बस्छन् किनभने योे सेक्रेसीको मामिला हो । गोप्य कुराहरू लिक हुन सक्छन् । तर, यहाँ त बजेटका दर कतिकति राखौं कति कतिकति चाहिन्छ भनेर बजेट बनाइयो । गज्जब छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गर्नुभयो । “प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो जे भए पनि ?’ उहाँले प्रश्न गर्नुभयोे, “कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् ।”
उहाँले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गर्नुभयो ।