काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठक सुरु हुनासाथ सांसदहरुले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको ३ महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराउनुभयो ।
सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यसतर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तथा सांसदहरु प्रदीपकुमार ज्ञवाली, महेश बस्नेत, देब गुरुङ, रंगमती शाही भानुभक्त ढकाललगायत सांसदहरुले अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भएपनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठाउनुभयो ।
यस्तै, बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।