रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नागरिकता विधेयक देशकोे हितमा नरहेको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपाली नागरिकले निवा कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभएपनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपुर्ण रहेको बताउनुभयो ।
“राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन”, उहाँले भन्नुभयो ।
नेकपा एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै उहाँले प्रचलित ऐन अनुसार वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आउने वित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताउनुभयो ।
वैवाहिक अंगिकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनिहरुलाई कुनैप्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उहाँको भनाइ छ । “एक हातमा विवाहको प्रमाणपत्र अर्को हातमा नागरिका, सिउँदोमा सिन्दुर हातमा नागरिकता दिने काम देशको हित विपरित”, उहाँले भन्नुभयो ।
उपमहासचिव ज्ञवालीले देशको अर्थतन्त्र धरापमा परेको जनाउँदै उहाँले अछिल्लो समय राजनीतिमा सत्ता गठबन्धन र वित्तिय क्षेत्रमा वित्तिय गठबन्धनले मुलुकलाई गम्भीर दुर्घटनामा लैजाने प्रयत्न गरेको बताउनुभयो ।
“एउटा पार्टीलाई लक्षित गरेर संसदमा प्राप्त अधिकारको चरम दुरुपयोग गर्दै संबिधानको मूल मर्ममा प्रहार गर्ने काम भएको छ”, उहाँले भन्नुभयो ।