रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रबारदेखि बुटवलमा शुरू भएको छ ।
कार्यशालाले पार्टीको आन्तरिक जीवनमा देखापरेका समस्याको समाधानमा सहयोग पुग्ने, निर्वाचन केन्द्रीत कार्यक्रमको योजना बनाउने, संगठनले गर्ने कामको योजना बनाउने लगायतका विषयमा निष्कर्ष निकाल्ने पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बताउनुभयो ।
विश्वकर्माले पार्टीलाई गतिशील बनाउने काममा यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उहाँले पार्टीभित्र देखिएका समस्या र तिनको समाधानकाउपायबारे विचार प्रस्तुत गर्नुभएको थियो ।
पार्टीमा अध्ययनमा उदासिनता, आत्मकेन्द्रीत चिन्तन प्रवृत्तिको विकास, निर्देशन–बुझाई र कार्यान्वयनमा देखिएका समस्या, पार्टी सदस्यता र नवीकरण, जनसंगठनको काम र नीति नेतृत्वको महत्वकावारेमा उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले स्थानीय तहको निर्बाचनमा भएका घात प्रतिघात, त्यसबाट लिनुपर्ने शिक्षा, सस्कार–सस्कृति र कार्यशैली तथा आगामी दिनमा गर्नुपर्ने कामको वारेमा जानकारी गराउनुभयो ।
सो अवसरमा पार्टी केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारीले वैचारिकरूपमा स्पष्ट र संगठनात्मक रूपले सवल रसुदृढ, भावनात्मक रूपमा एकतावद्द, जनतासंग घनिष्ठ सम्बन्ध वढाउनु तथा शैलीगत रूपमा जनमुखी हुनुपर्ने विचार राख्नुभएको थियो ।
कार्यशालामा प्रस्तुत कार्यपत्रमाथि आधारित भएर पाँचवटा समूह वनाएर छलफल गर्ने र दोश्रो दिन प्रस्तुत गर्ने योजना रहेको छ ।कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सवै जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।
शनिवार हुने कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षण दिनुहुनेछ । प्रदेश कमिटीले पनि यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसमा उपाध्यक्षद्वय सुभाष नेम्वाङ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने कार्यक्रम छ ।
प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोलस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो ।