रुपन्देही । राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ ।
कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने राष्ट्रिय जनमोर्चाले बताएको छ ।
कपिलबस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सम्भयता रहेकाले ति मानवसंग जोडिएका सम्पदालाई जोडेर पुरातत्विक शहर निर्माणको परिकल्पना गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी बौद्ध पुरातात्विक शहर निर्माणबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्वका बौद्धिष्टहरुका लागि आर्कषण केन्द्र बनाउन सकिने भएकाले अभियान सञ्चालन गरिएको बताउनुभयो ।
पुरातात्विक शहर निर्माणको अभियान कुनैपनि धर्मसंँग नजोडिएको स्पष्ट पार्दै उहाँले यो अभियानले पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्ध हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गरे ऐतिहासिक ठाउंहरुलाई मिलाएर बौद्ध सम्भयताको एटा विशाल शहर निर्माण हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
तत्काल बौद्ध पुरातात्विक शहर नभएपनि अहिले परिकल्पना तथा सपना मात्र दखिएको र भन्दै यसको निर्माणका लागि आमनागरिक, सरकार, पुरातत्वविद् र सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो ।
बौद्ध सम्भयता शहर निर्माण कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अहिले पनि कपिलबस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु अन्वेषण र संरक्षण नभएकाले यी सवै स्थानमा उत्खनन गर्दै पुरातात्विक शहरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
संस्कृतविद् डा. गितु गिरीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थालेपनि अझै पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताउनुभयो । अहिले धेरै पुरातात्विक सम्पदाको अन्वेषण नभई हराउन थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उपप्रध्यापक लिलाबहादुर केसीले मानवसंग सम्बन्धित बौद्धकालिन सम्पदाहरुको उत्खनन् गरी विज्ञान प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने र राजनीतिक दलहरुले गम्भीर भएर लागेमा भविश्यमा अहिले कल्पना गरिएको बौद्ध पुरातात्विक शहर निर्माण गर्न सकिने तर्क गर्नुभयो ।
बौद्ध पुरातात्विक शहर निर्माण गर्न दुर्गा पौडेल संयोजक रहेको पाँंच सदस्यीय कार्यदल गठन गरिएकोे राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले जानकारी दिनुभयो । कार्यदलको सदस्यहरुमा मनोज भट्ट, मिलाल पुरी, बद्रे आलम र घनश्याम न्यौपाने रहनुभएको छ ।