रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताउनुभएको छ ।
जिवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसरमा जिवराज आश्रित प्रतिष्ठानले आज बुटवलमा आयोजना गरेको ‘समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण’ विषयक गोष्ठीमा बोल्दै उहाँले कम्युनिष्ट पार्टीमा लागेकाहरुले पदीय लोभ त्याग्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उहाँले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दावी गर्नुभयो ।
उपाध्यक्ष पौडेलले कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालच बाहेक अरु केही नभएको र शक्तिशाली अवस्थामा पुगेको कम्युनिष्ट पार्टीलाई पदका लागि विभाजन गर्नु दुर्भाग्यपूर्ण भएको धारणा राख्नुभयो ।
नेता पौडेलले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको बताउनु भयो । “जिवराजका बहुआयामिक योगदान छन् । कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले उहाँबाट त्याग र विचारको राजनीति सिक्नुपर्छ । तबमात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य र उद्देश्य पूरा हुन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अचलराज पाण्डेले समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गर्दै अहिलेको पुस्ताले आश्रीतको योगदान थाहा पाउन र बाटो पछ्याउन आवश्यक रहेको बताउनुभयो । मुलुकको आर्थिक अवस्था र समुन्नत समाज निर्माणका लागि आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाको भनाइ छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै युवा विश्लेषक तथा प्राध्यापकद्वय माधव पौडेल र हुमराज भुसालले स्वर्गीय आश्रितको अर्थराजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनु भएको थियो ।
कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरेले नेताहरुले मदन भण्डारी र जिवराज आश्रितलाई एउटै नजरले हेर्न नसकेकामा चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले पार्टिले नै विभेद गरेका कारण मदन भण्डारीलाई पुर्वमा र आश्रितलाई लुम्बिनीमा सिमित नगरेर आम नेपालीको माझमा पु¥याउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले कुशल संगठक आश्रितको जिवन शैली र उहाँले अपनाएको वाटो नै कम्युनिष्ट पार्टीको मर्म भएकाले भावि पुस्तामा जिवराज आश्रितको ब्यक्तीत्वको विचार हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेनाले आश्रितको जिवन शैलिकोको अनुकरण र कृतित्वको रक्षा गर्दै आम नेपाली युवा पुस्तामा हस्तान्तरण गर्ने र रचनात्मक ढंगबाट प्रतिष्ठानलाई अगाडि बढाउन आफुहरु लागिपर्ने बताउनुभयो ।
सो अवसरमा उपाध्यक्ष युवराज घिमिरे, महासचिव कल्पना थापा, युवा विश्लेषक डा. सागर न्यौपाने लगायतले आश्रितको योगदानबारे चर्चा गर्नुभएको थियो ।