रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएको खुलासा भएको छ ।
नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गर्नुका साथै असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै हस्ताक्षर गरेर ९ जना करार कर्मचारी हटाएर साउन २ मा ११ जना नयाँ भर्ना गर्नुभएको थियो ।
प्रमुख मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै हस्ताक्षर गरेर यही साउन २ गते छोरा र ज्वाइँसहित ११ जना कर्मचारी नियुक्त दिनुभएको थियो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले आफ्ना साला विभाष त्रिपाठीलाई कम्प्युटर अपरेटर एवं प्राविधिक सहायक पाँचौं तहमा नियुक्ति दिलाउनुभएको थियो ।
कार्यपालिकालाई जानकारी नै नदिइ फर्जी कागजात तयार गरेको र कर्मचारी भर्नाको कुनै पनि विधि नअपनाइ कर्मचारी भर्ना गरेको भन्दै उपप्रमुख सहितका जनप्रतिनिधि अहिले आन्दोलित छन् ।
उपप्रमुख कल्पना हरिजनसहित १३ जना कार्यपालिका सदस्य निर्णय फिर्ताको मागसहित आन्दोलित भएका हुन् । नगरपालिकामा २३ सदस्यीय कार्यपालिका छ ।
नगरपालिकामा नीति र विधिको साटो मनपरी भएपछि आन्दोलनमा उत्रनु परेको उपप्रमुख हरिजनले बताउनुभयो । कार्यपालिकाको बैठकमा पेस नै नभएको एजेन्डाबारे फर्जी कागज तयार गरेर बिनाकारण करार कर्मचारी निकाल्ने र आफ्नालाई भर्ने काम गलत भएको उहाँको भनाइ छ ।
उपप्रमुख हरिजनलगायत जनप्रतिनिधिले मंगलबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै साउन असार ३० गते नगरसभा बैठक बसेको तर त्यस दिन पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय नआएको दाबी गरे ।
एकाएक ३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिकरूपमा हटाएको जानकारीमा आएपछि माइन्यूट हेर्दा त्यसमा निर्णय नभएको तर सादा कागजमा प्रमुखले हस्ताक्षर गरेको भेटिएको बताए ।
कर्मचारी भर्ना विवादले अहिले दलीयरुपमा विभाजन देखिएको छ । कांग्रेसबाट निर्वाचित प्रमुखलाई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र लोकतान्त्रिक समाजवादी पार्टीका १० जनाले साथ दिएका छन् । एमालेबाट निर्वाचित उपप्रमुख हरिजनलाई जसपा र जनमतसहितका १३ जनाले साथ दिएका छन् । उनीहरुले साउन ५ मै जिल्ला समन्वय समिति र जिल्ला प्रशाशन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेको साउन १५ मा पाल्पाको रामपुरमा सरुवा भएको छ ।