रुपन्देही । नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले विचार र सिद्धान्तलाई मानवीय जीवनसँग मेल खानेगरी व्यवहारमा उतार्नुपर्ने बताउनुभएको छ ।
प्युठान रुपन्देही सम्पर्क कमिटिले शनिवार तिलोत्तमाको वनवाटिकामा आयोजना गरेको बृहद् भेला तथा तिज मिलन कार्यक्रममा बोल्दै उहाँले सिद्धान्तका कुरा गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्ति गलत भएकाले व्यवहारिक प्रयोगमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
“हिजो माक्सका, माओका किताब बोकेर हिड्दैमा, लामा–लामा सिद्धान्तका भाषण गर्दैमा कम्युनिस्ट भईन्थ्यो । अब त्यसरी हुँदैन । सिद्धान्त र बिचारलाई, पुस्तकमा उल्लेख भएका विषयवस्तुलाई हरेक मानिसको जीवनमा लागू गराउनु पर्दछ । ब्यबहारिक गराउनु पर्छ”, उहाँले भन्नुभयो ।
नेता थापाले आगामी निर्वाचनमा एमालेले कसैलाई पनि काँधमा बोकेर नहिड्ने जनाउँदै आफ्ना एजेण्ड लिएर जनताका माझमा जाने बताउनुभयो ।
एमालेले भदौ २० गतेसम्म उम्मेदवारको नामावाली टुङगो लगाउने बताउँदै उहाँले पार्टीले जसलाई उम्मेदवार बनाए पनि सुर्य चिन्हबाहकले निर्वाचन जित्ने दाबी गर्नुभयो । “चुनाबमा उम्मेदवार हुने ब्यक्ति गौण हो, पार्टी र चुनाबचिन्ह प्रमुख हो । हामी जो जहाँ छौ एमालेका उम्मेदवारलाई जिताउन लाग्नेछौ ।” नेता थापाले भन्नुभयो ।
प्युठान जिल्लाको समग्र विकासको लागि प्युठानमा जन्मिएका, नाता सम्बन्ध भएका सबै जना जो जहाँ भएपनि एकजुट भएर जिल्लाको हितमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य चोपलाल आचार्यले प्युठानको विकासँगै आगामी निर्वाचनमा पार्टीलाई जिताउन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसिले जन्मथलोको बिकासका लागि आ–आफ्नो क्षेत्रबाट सबैको सक्रियता आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सचिव भरत केसी, प्युठान रुपन्देही सम्पर्क समिति अध्यक्ष विनोद गिरी, पत्रकार गंगा खड्का, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), शान्त रसाईली लगायतले आसन्न निर्वाचनको लागि मात्रै नभएर सदैव जिल्लाको विकास समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो ।