काठमाडौं। सत्ता गठबन्धनको कार्यदलले बैठकमा अहिलेसम्म भएका छलफलको विवरण शीर्षस्थ नेतालाई अवगत गराउने भएको छ।
बुधबारको बैठकले यस्तो निर्णय गरेको कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।
मन्त्री कार्कीले भन्नुभयो, “जुन जिम्मेवारी कार्यदललाई सुम्पेको छ, त्यो पुरा गर्ने अन्तिम चरणमा पुगेका छौं। अहिलेसम्मका छलफलका विवरण शीर्षस्थ नेताहरुलाई अवगत गराउनेछौं।” छलफलका विवरण शीर्ष नेताले अध्ययन गरेपछि सहमति सार्वजनिक हुने उहाँको भनाइ छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक सकिएको उहाँको भनाइ छ। सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुलाई कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भेट गर्नुभएपछि कार्यदलका सदस्यसँग छलफल गर्नुहुनेछ।