काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकमा थप गृहकार्य गरी भोलि सम्ममा सिट बाँडफाँटको प्रस्ताव टुङ्गो लगाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सिट बाँडफाँटको प्रस्तावबारे छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि पार्टीका शीर्ष नेताहरूबिच एक्ला–एक्लै तथा आवश्यकता अनुसार विभिन्न समूहमा छलफल अगाडि बढाउने सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
गठबन्धन दलहरुबीच सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलका संयोजक एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भई लामो समय छलफलमा बस्न नसकेका कारण पनि बैठक भोलिका लागि सारिएको मन्त्री कार्कीले बताउनुभयो । सत्ता गठबन्धनको अर्को बैठक भोलि भदौ ८ गते बुधबार साँझ ५ बजे बस्ने पनि मन्त्री कार्कीले बताउनुभयो ।