रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले प्रचारलाई प्रभावकारी बनाउन विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
एमाले प्रचार विभाग रुपन्देहीको आयोजनामा तिलोत्तमामा भएको प्रशिक्षणको उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले समाजमा सबै नेता खराब छन् भन्ने भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समय सामाजिक सञ्जालमा सबै नेता खत्तम छन् भन्ने हिसाबले नकारात्मक प्रचार गरिएको भन्दै यसलाई चिर्न यस्ता प्रशिक्षणले सहयोग गर्ने बताउनुभयो ।
नेता गिरीले एमाले नेतृत्वको सरकार र अहिलेको गठबन्धन सरकारले गरेका कामको विश्लेषणात्मक लेख र समाचार बाहिर ल्याउन जरुरी रहेको बताउनुभयो । प्रदेश र सस्थानीय तहमा भएका कामलाई पनि बाहिर ल्याउन आवश्यक रहेको बताउँदै उहाँले लुम्बिनी प्रदेशमा सरकारले अघि सारेको मिनि नेपाल बनाउने योजना बाहिर नआएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीको प्रचारलाई व्यवस्थित गर्न र नीति सिद्धान्तबारे कार्यकर्ताको धारण स्पष्ट बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सुर्य थापा, प्रदेश कमिटी सदस्य मोहन चापागाइँ र जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले पार्टीको प्रचारशैली, प्रचारमा कार्यकर्ताको भूमिका र दायित्व लगायतका विभिन्न विषयमा प्रशिक्षण दिनुहुने प्रचार विभागका सचिव नरेश केसीले जानकारी दिनुभयो ।