रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताउनुभयो । अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उहाँको विश्वास छ
बुटवलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताउनुभयो ।
गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया शुरु गर्नु ठूलो सफलता भएको उहाँको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुपन्देही आउनुभएको हो ।