काठमाडौँ । सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ ।
आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएपछि २०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो । चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधि सभामा सुनाइएको छ ।
२०७४ मङ्सिरमा भएको निर्वाचनको कार्यकाल सोही वर्षको फागुन २१ गतेदेखि सुरु भएको थियो । मङ्सिरमा निर्वाचन भए पनि दुवै सदनको निर्वाचन सम्पन्न गरेर अधिवेशन प्रारम्भमा केही ढिलाइ भएको थियो । सोअनुसार झन्डै पाँच महिनाअघि नै जनप्रतिनिधिमूलक संस्थाको कार्यकाल सकिएको हो । तर योपटक माथिल्लो सदनको निर्वाचन नहुने हुँदा प्रतिनिधि सभाको रिक्तता भने बढीमा तीन महिनाभन्दा बढी हुने अवस्था छैन ।