बुटवल । एमाले, राप्रपा र जसपा रुपन्देहीको संयुक्त बैठकले चुनावी तालमेलका आधारमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन मातहतका पार्टी कमिटी र कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
मंगलबार भैरहवामा बसेको नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी रुपन्देहीको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनका लागि तीन दलबीच तालमेल भएको भन्दै बैठकले आ–आफ्ना पार्टी कमिटी, कार्यकर्ता, शुभेच्छुक, समर्थक सम्पूर्णलाई चुनावी तालमेलका आधारमा तय गरिएका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरेको हो ।
तीन दलबीच भएको चुनावी तालमेलका आधारमा रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनका लागि साझा उम्मेदवार तय गरिएको बैठकपछि एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणा र जसपाका जिल्ला अध्यक्ष रामअवतार यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जसअनुसार रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं १ मा छविलाल विश्वकर्मा उम्मेदवार छन् भने प्रदेशसभा १ मा आशिष चौधरी र २ मा दधिराम न्यौपाने उम्मेदवार हुनुहुन्छ । त्यस्तै रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा विष्णु पौडेल उम्मेदवार छन् भने प्रदेशसभा १ मा लिला गिरी र २ मा भोजप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं ३.मा दिपक बोहोरा उम्मेदवार हुनुहुन्छ भने प्रदेशसभा १ मा महेन्द्र यादव र २ मा तुलसीप्रसाद चौधरी उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा ओमप्रकाश यादव उम्मेदवार छन् भने प्रदेशसभा १ मा सुनिल गिरी र २ मा रामअवतार यादव उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं ५ मा वासुदेव घिमिरे उम्मेदवार हुनुहुन्छ भने प्रदेशसभा १ मा भूमिश्वर ढकाल र २ मा रामचन्द्र यादव उम्मेदवार हुनुहुन्छ ।