बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापन पछि मात्रै तिनाउ –दानव नदी करिडोरको काम अघि बढ्ने स्पष्ट पार्नुभएको छ।
करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबार बिहीन हुने भ्रम छरिएको भन्दै उहाँले यस्तो कदापी नहुने बताउनुभयो । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उहाँले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गर्नुभयो ।
बुटवल–११ युद्धनगरमा तिनाउ–दानव करिडोर बारे स्थानीयसँग आज बिहान छलफल गर्दै रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले विकासका नाममा कोही पनि घर–बास विहिन हुनु नपर्ने बताउनुभयो ।
जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उहाँले जनतालाई असर पर्ने कुनै पनि योजना अघि नबढ्ने स्पष्ट पार्नुभयो ।
एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्मार्णको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर–बासविहिन नबनाइने बताउनुभयो ।
यहाँको बस्तिलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहना अनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । ‘यहाँको बस्ति सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो ।बिकासका नाममा जनतालाई आतंकित पार्ने र बिस्थापित गर्ने भन्ने हुँदैन ।’–पौडेलले भन्नुभयो, भ्रममा नपर्नुहोस यदी यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईहरुलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन । ’
उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नतर्फ बढि केन्द्रित रहेको उल्लेख गर्नुभयो । रुपन्देहीलाई बिकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उहाँले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने उल्लेख गर्नुभयो । नेता पौडेलले अब आफ्नो ध्यान रोजगारी सिर्जना र शिक्षामा केन्द्रित हुने बताउनुभयो ।
हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला बिकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको बिकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उहाँको भनाइ छ ।
कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै पूर्वमन्त्री, एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गर्नुभयो ।
विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गर्नुभयो ।
यहाँको पर्यटकीय क्षेत्रको बिकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।