काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मसिंर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँमा आज आयोजित कार्यक्रममा निर्वाचनलक्षित पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुँदै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने गरी कानुन बनाउने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् आफ्नो पार्टीको मुख्य मुद्दा रहेको उल्लेख गर्नुभयो ।