बुटवल । २०७६ साल असोज ९ गते तत्कालिन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल— १० रामनगरमा निर्माणाधीन बुटवल सम्मेलन केन्द्रको निरीक्षण गर्दै तत्कालिन नेकपाका महासचिव विष्णु पौडेललाई भन्नुभएको थियो, ‘आफ्नो क्षेत्रमा यस्तो गर्नुहुँदो रहेछ र त सधैभरी चुनाव जित्नु हुने रहेछ ।’

प्रचण्डको उक्त अभिव्यक्ति पछि बुटवल मण्डपको निरिक्षणका लागि पुगेका तत्कालिन नेकपाका नेता र सहभागिहरुका बीचमा केहिबेर हाँसो गुञ्जिएको थियो।
गत असोज २४ गते बुटवलमा आयोजित एक कार्यक्रममा राप्रपाका नेता तथा पुर्व गृहमन्त्री निरञ्जन थापाले विष्णु पौडेललाई विकासको प्रतिकको रुपमा चित्रित गर्नुभयो । रुपन्देही क्षेत्र नं. २ मात्र नभएर सिंगो रुपन्देही र लुम्बिनी प्रदेशका ठूला विकास आयोजना संचालन हुनुमा पौडेलको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पौडेल राजनितिक मात्र नभई विकासप्रेमी नेता समेत भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।
थापाको भनाइ थियो–‘अहिलेको निर्वाचनमा राप्रपा र एमालेका बीचमा तालमेल भएर मात्र होईन एकआपसमा प्रतिष्पर्धामा रहंदापनि रुपन्देहीमा पौडेलको आवश्यकता कसैले पुर्ति गर्न सक्दैन ।’
२०६४ सालदेखि निरन्तर रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र थापाले भनेजस्तै पार्टीभित्र मात्र होईन बाहिर समेत आफुलाई विकासप्रेमी नेताको रुपमा उभ्याएका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेबाट रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पौडेलले निर्वाचनको समयमा मतदातासँगको भेटघाटमा मात्र होईन हरेक कार्यक्रममा दिने आफ्ना अभिव्यक्तिमा रुपन्देहीको विकास निर्माणलाई नै जोड्ने गर्नुहुन्छ ।
बुटवल मण्डपमा निर्माणाधिन अन्तराष्ट्रिय सभाहल, प्रदर्शनी केन्द्र, बेलहिया बुटवल ६ लेन सडक, बेलबास बेथरी सडक, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी सडक, तिनाउ दानव करिडोर, लुम्बिनी प्रादेशिक अस्पताल भवन, बुटवल मेडिकल कलेज लगायत रुपन्देहीका अधिकांश पूर्वाधार आयोजनामा बजेट पार्न आफुले धेरै मेहनत गरेको भन्दै यी विकास आयोजनाको जस पौडेलले लिने गर्नुभएको छ ।

विगतका दुईवटा सरकारमा अर्थमन्त्री हुँदा रुपन्देहीका दर्जनौं विकास आयोजनामा बजेट बिनियोजन गरेकोले पौडेल मतदातामाझ लोकप्रिय हुनुहुन्छ । अर्थमन्त्री हुँदा सबैभन्दा धेरै बजेट र कार्यक्रम आफ्नो जिल्लामा पारेको भन्दै एमाले नेताहरुका बीचमा समेत पौडेलको टिकाटिप्पणी हुने गथ्र्यो ।
पछिल्लो पटक अर्थमन्त्री हुँदा पौडेलले प्रस्तुत गरेको बजेटमा बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आईभीएफ सेवा विस्तार गर्ने, नारायणगढ–बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल–कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गर्ने, तिनाउ नदिमाथी नेपालकै पहिलो सिग्नेचर ब्रिज निर्माण गर्ने जस्ता योजना समावेश गर्नुभएको थियो ।
पौडेलले अर्थमन्त्री रहेको बेला सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, खानेपानी, खेलकुद लगायतका दर्जनौं आयोजनाका लागि रुपन्देहीमा मात्रै ११ अर्व बजेट पारेका थिए। तिनै पौडेल चौथो पटकको जितको लागि चुनावी मैदानमा उत्रिएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभएर अन्य पार्टीमा आस्था राख्ने रुपन्देहीका उद्योगी व्यवसायी पनि खुलेर उनको पक्षमा देखिन थालेका छन् ।
अर्कोतर्फ पौडेलसँगको प्रतिष्पर्धाका लागि बुटवलमा दरिलो उम्मेदवार समेत नभएको चर्चा हुन थालेको छ । पौडेलका विरुद्ध सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गरेको छ ।
तर पुरानो व्यापारिक केन्द्र रहेको बुटवलका उद्योगी व्यवसायी भने बुटवलको विकासको लागि पौडेलको विकल्प अरु कुनै उम्मेदवार नबन्ने भन्दै पौडेलको पक्षमा उभिन थालेका छन् । बुटवलका उद्योगी यज्ञेश्वर थैव बुटवलको विकासको लागि पौडेलको विकल्प अरु कुनैपनि उम्मेदवार बन्न नसक्ने बताउनुहुन्छ ।
‘अर्को व्यक्तिले चुनाव जिते सांसद भएर पाउने तलब भत्ताले आफ्नो र परिवारको केहि प्रगती गर्ला तर, बुटवललाई एउटा सांसद मात्र होईन चुनाव जितेपछि मन्त्री, प्रधानमन्त्री हुने व्यक्ति चाहिएको छ।’ थैव भन्नुहुन्छ ।
पौडेल पनि रुपन्देहीमा संचालित विकास निर्माण आयोजनालाई पुरा गर्न आफूलाई मतदान गर्न आग्रह गर्दै आउनुभएको छ । ‘अहिले संचालित आयोजना सम्पन्न हुँदा रुपन्देही विकासका हिसाबले मुलुककै रोलमोडल जिल्ला बन्छ, सम्पन्न भएका आयोजनाहरुको संचालन र निर्माणाधीन आयोजना सम्पन्न गर्न मेरो उम्मेदवारी हो’ उहाँ भन्नुहुन्छ ।
पटकपटक मन्त्री भईसकेका र रुपन्देहीको विकासमा महत्वपूर्ण योगदान दिएको कारण पौडेलविरुद्ध प्रतिस्पर्धामा उत्रिएका जुनसुकै उम्मेदवारलाई पनि चुनाव जित्न सहज देखिँदैन ।
सत्ता गठबन्धनको समर्थन रहेपनि राष्ट्रिय जनमुक्तिको जनाधार रुपन्देही क्षेत्र नम्बर २ मा कमजोर छ । संसदिय निर्वाचनमा केशव थापा पहिलो पटक प्रतिष्पर्धा गर्दै छन् भने हेभीवेट उम्मेदवारसँगको प्रतिष्पर्धा उनको लागि फलामको च्यूरा जस्तै बनेको छ ।
गत स्थानिय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा एमालेले जनमुक्तिसँग तालमेल गरेपनि मत बढाउन नसकेपछि यहाँ जनमुक्तिको जनाधार कमजोर रहेको एमालेको दावी छ । बुटवल बाहेक तिलोत्तमा र सैनामैनाका १० वटा वडामा जनमुक्तिका वडाअध्यक्षका उम्मेदवारले जम्मा २ हजार ७० मत मात्र प्राप्त गरेका थिए। आफ्नो २ हजार मात्र मत लिएर निर्वाचनमा उभिएका थापा बाँकि मतका लागि सत्ता गठबन्धनको भरमा छन् ।
पौडेल भने निरन्तर निर्वाचन जितेर बुटवलका जनतासँग परिचित हुनुहुन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सुर्यप्रसाद प्रधानलाई पराजित गरेका पौडेलले २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका उम्मेदवार डा. बाबुराम भट्टराईलाई पराजित गर्नुभएको थियो ।
त्यस्तै २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गर्दै पौडेलले जितको ह्याट्रिक गर्नुभउको थियो ।
संसदीय राजनितिमा मात्र होईन विष्णु पौडेल कम्युनिष्ट राजनीतिमा चिनिएको नाम हो । स्याङ्जा पुतलीबजार नगरपालिका १० राङखोलामा २०१६ साल मंसिर १८ गते जन्मिएका पौडेलले पुतलीबजारकै मातृभूमि माध्यमिक विद्यालयबाट पौडेलले एसएलसी पास गरेका थिए। एसएलसी पास गरेपछि राङखोलाकै चक्र कमला प्राथमिक विद्यालयमा पाँच महिना अध्यापन गराएका पौडेल २०३२ सालतिर रुपन्देही झर्नुभएको थियो ।
रुपन्देही झरेको तिनचार वर्षपछि स्याङजाको जग्गा बेचेर बुटवलकै स्थायी बासिन्दा भएका पौडेल पञ्चायतकालको दबदबाका बेला भूमिगत राजनीतिमा सक्रिय रहनुभयो ।
२०४८ सालको चुनावताका संगठन विस्तारका लागि पाल्पामा सक्रिय रहेका पौडेल २०५१ सालको मध्यावधि चुनावमा पाल्पाबाटै विजयी हुनुभएको थियो । तर, २०५६ सालमा बुटवलबाट निर्वाचन लडेका पौडेल नेपाली कांग्रेसका सुर्यप्रसाद प्रधानसँग पराजित हुनुभयो । त्यसपछिका निर्वाचनमा भने पौडेलले पराजित भएर पछाडी फर्किनुपरेको छैन ।
पाँचवटा निर्वाचन लड्दा चारवटामा विजयी भएका पौडेल चुनाव जितिरहने नेता मधये पर्नुहुन्छ । भूमिगत राजनीतिमा जेलनेल भोगेका पौडेलले खुल्ला राजिनतिपछि भने पछाडी फर्केर हेर्नु परेको छैन ।
पौडेलको पार्टीमा संलग्नता
२०३२ सालमा रुपन्देही आएलगत्तै कम्युनिस्ट पार्टी स्थापनामा लागेका पौडेल २०३३ सालमा अल नेपाल कम्युनिस्ट रिभोलुसनरी कोअर्डिनेसन कमिटी मास्क–लेनिन स्थापनामा सक्रिय रहे भने २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो ।
भूमिगत हुँदै २०३५ सालमा मालेको रुपन्देही क्षेत्रीय समिति सदस्य बनेका पौडेल २०३६ सालमा तत्कालीन नेकपा मालेको रुपन्देही जिल्ला सदस्य रहेका थिए। भूमिगत रहेकै अवस्थामा २०३६ सालमा पक्राउ परेका पौडेल दुई महिनामै भैरहवा कारागार ‘ब्रेक’ गरेर पुनः भूमिगत राजनीतिमा फर्किनुभएको थियो ।
२०३६ देखि २०३९ सम्म मालेकै पाल्पा जिल्ला सदस्य भएका पौडेल २०३९ सालदेखि २०४६ सम्म अर्घाखाँची, पाल्पा र रुपन्देही जिल्ला कमिटी सचिव र मालेको दक्षिण–पश्चिम क्षेत्रीय सदस्य भए। २०४५ सालमा कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बन्नुभएको थियो ।
बहुदल स्थापनापछि कम्युनिष्ट पार्टी र मालेबीच एकता भएर नेकपा एमाले गठन भएपछि राष्ट्रिय परिषद् सदस्य, २०४६ सालदेखि २०४९ सम्म एमालेको महाकाली अञ्चल इञ्चार्ज हुनुभयो ।
२०४९ देखि २०७२ सम्मका विभिन्न अवधिमा एमालेको लुम्बिनी अञ्चल इञ्चार्ज भएका पौडेल २०५१ देखि २०६० सम्म संगठन विभाग प्रमुख भएर काम गर्नुभयो भने २०५२ सालमा उद्योग विभाग प्रमुख रहनुभयो । २०४७ सालमा एमाले गठन हुँदै केन्द्रीय सदस्य भएका पौडेल २०४९ सालको पाँचौं राष्ट्रिय सम्मेलन र २०५४ सालको छैठौं महाधिवेशनबाट पनि केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।
२०५४ मा एमालेको स्थानीय विकास विभाग प्रमुख, २०५५ देखि २०६० सम्म एमाले केन्द्रीय कार्यालय सचिव र २०६५ सालमा एमाले पश्चिम विकास क्षेत्रको प्रमुख भएका पौडेल २०६५ सालको आठौं महाधिवेशनबाट पार्टी सचिव निर्वाचित हुनुभयो ।
२०६७ देखि २०६९ सम्म एमाले केन्द्रीय सचिवालय सदस्य भएका पौडेल २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव र २०७४ सालमा नेकपा कालमा महासचिव भए। २०७८ सालमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभयो ।
सरकारमा पौडेलको संलग्नता
पार्टी संचालनमा मात्र होईन सत्ता संचालनमा पनि उत्तिकै माहिर मानिने पौडेल हालसम्मका ५ वटा सरकारमा मन्त्री भइसक्नुभएको छ ।
पहिलोपल्ट २०५४ सालमा पहिलो पटक मन्त्री हुँदा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका पौडेल २०६५ सालमा जलस्रोत मन्त्री र २०६७ सालमा रक्षा मन्त्री हुनुुभएको थियो । संविधान जारी भएपछि २०७२ सालमा बनेको केपीशर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका पौडेल २०७८ सालमा पुनः उपप्रधान, अर्थ तथा गृहमन्त्री समेत हुनुभयो ।