देवदह । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नंबर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताउनु भएको छ ।
उहाँले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाउनुभयो । देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले राष्ट्रको अहितमा काम गरेका सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएकोले कार्यकर्ताहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
रुपन्देहीको क्षेत्र नम्वर १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव समेत रहनुभएका विश्वकर्माले नेकपा एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका एक अस्पतालको अवधारणा अगाडि सारेको बताउनुभयो ।
उहाँले आफुले क्षेत्र नम्वर १ को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारे पनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको बताउनुभयो । उहाले रोहिणी नदीलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय अनुसासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भूषालमा राजनीतिक संस्कार नभएको आरोप लगाउनु भयो । उहाले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने बताउनु भयो ।
उहाँले रुपन्देहीको क्षेत्र नम्वर १ को अधुरा योजनाहरु सम्पन्न गर्नको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनु भयो ।