रुपन्देही । रुपन्देही क्षेत्र नं ५ (१) का उम्मेदवार भूमिश्वर ढकालले सत्ता गठबन्धनका कारण देशको अर्थतन्त्र खस्किएको बताउनुभएको छ ।
उहाँँले सत्ता गठबन्धनले नेतृत्व गरेसँगै अर्थतन्त्र कमजोर हुँदा नागरिक महंगीको मारमा परेको उल्लेख गर्नुभयो ।
रूपन्देहीको क्षेत्र नम्बर ५, कञ्चनमा चुनाव प्रचारप्रसारका क्रममा उहाँले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले भन्नु भयो, ‘अहिले पेट्रोलको भाउ दोब्बर बढेको छ, बैंकले लगानी गर्दैन, व्यापार व्यावसाय ठप्प भएको छ,किसानले बीउ मल पाउदैनन्, हरेक कुरामा महंगी बढेको छ, भ्रष्टाचार बढेको छ, विकासका गतिविधि केही छैन, अब देशलाई विकास सहित निकास चाहिएको छ, त्यसका लागि एमालेको सरकार अवश्यक छ । ’
देशलाई समृद्ध बनाउनका लागि नेकपा एमालेसंग मात्र सहि भिजन भएको उहाँको दाबि छ । आफू प्रदेश सभामा रहँदा आफ्नो क्षेत्रमा जनताले महसुस हुने गरी काम गरेको समेत उहाँले बताउनु भयो ।
उहाँले भन्नूभयो, ‘म संसदमा हुनु पूर्व पाँच वर्ष पहिले यो क्षेत्र कस्तो थियो अहिले कस्तो भएको छ मूल्यांकन गर्नुस् बाटो बनेकाछन् , शिक्षा, स्वास्थ्यमा सुधार भएको छ, भौतिक पूर्वाधार बनेका छन्, सिंचाईका लागि अवश्यक डिपट्युवेलको व्यवस्था गरिएको छ, खानेपानी धेरै ठाउँमा पुर्याइएको छ ।’
गएको कार्यकालमा आफूले गरेको कामको सहि मुल्यांकन गरि आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफू र आफ्नो पार्टीलाई विजयी बनाउन उहाँले मतदाताहरूसंग आग्रह गर्नु भयो । उहाँले भन्नूभयो ‘मलाई जिताउनुहोस् तपाईहरूको शिर निहुरिन दिने छैन ।’
स्थानीय, प्रदेश र संघीय सरकार नेकपा एमालेको नेतृत्वमा भएको बेला कञ्चन गाउँपालिकामा उल्लेख्य विकासका कार्य भएको कञ्चन गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमालेका नेता गोकर्ण बहादुर क्षेत्रीले बताउनु भयो ।