बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुम्बासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उहाँले अव्यवस्थित, भुमिहीनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा दिने बताउनुभयो ।
एमाले सरकारमा रहंदा जग्गा नापजांचको कामसम्पन्न भई लालपुर्जा दिनै लाग्दा सरकारबाट बाहिरिदा लालपुर्जा वितरणको कार्य हुन नपाएको बताउंदै नेता गिरीले अब सरकारमा पुग्न साथ विधि र प्रक्रियाअनुसार अव्यवस्थित र भुमिहीनहरुलाई लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।
शक्तिशाली भुमि आयोगबाट काम भइरहेको अवस्थामा अव्यवस्थित र भुमिहिन विरोधी तत्वहरुले षडयन्त्रपूर्वक मुद्दा मामिला गरेर लालपुर्जा वितरणको कार्य रोकेको उहाँको भनाइ छ ।
नेता गिरीले तिनाउ दानव कोरिडोरको विकास गर्दा स्थानीयलाई व्यवस्थापन प्रमुख प्राथमिकतामा राखिने बताउनुभयो । उनले बेलबास–बेथरी सडक निर्माणाधीन अवस्थामा रहेको बताउंदै यो आयोजनालाई छिटो सम्पन्न गराउने पहल गर्दै यो सडकलाई पर्यटनको विकास संग जोड्ने योजना एमालेले बनाएको उल्लेख गर्नुभयो ।
साथै एमालेले सरकारमा रहँदा वा नरहँदा पनि सधै जनताका समस्या, भावना बुझ्ने गरेकाले अबको निर्वाचनमा पनि जनताले एमालेलाई स्वीकार गर्नुको विकल्प नरहेको नेता गिरीले बताउनुभयो ।