काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।
पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बन्नुभएको छ । उहाँको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ ।
महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहनुभएका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल हुनुहुन्छ ।
मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दिन प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा र महामन्त्री थापा सिंहदरबार एकसाथ पुग्नुभएको हो । हँसिलो अनुहारसहित संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएका सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको साथ रहेको छ ।
पार्टी महामन्त्री थापालाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रदीप पौडेललगायतका नेताको साथ रहेको छ ।