बुटवल । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सम्पन्न भएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा ८९ सांसद सहभागी हुनुभएको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार आजै मतगणनापछि निर्वाचन परिणामको घोषणा हुने छ ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको छ ।
कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ ।