काठमाडौ । पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशपछि अदालतबाटै महरालाई प्रहरीको भ्यानमा राखेर डिल्लीबजार लगिएको छ। जेल चलान भएपछि महराकाे सांसद पद स्वत: निलम्बन भएकाे छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामै राखेर कानूनी कारबाही अघि बढाउन आदेश दिएको हो।
‘सभामुखजस्तो गरिमामय पदमा आसिन भएका महराले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरेको अभियोग लागेकोमा फौजदारी कार्यसंहिता २०६७ को दफा ६७ मा भएको कानूनी व्यवस्था समेतका आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादी (कृष्णबहादुर महरा) लाई प्रस्तुत मुद्दा पक्षका लागि थुनामा राख्न र उक्त दफा ८० बमोजिमको थुनुवा पूर्जी दिइ डिल्ली बजार कारागारमा पठाइदिनु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम यो आदेश गरिन्छ,’ आदेशमा भनिएको छ।
महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाई लगायतले बहस गरेका छन्।
सरकारी वकिलको तर्फबाट आइतबार बहस सकिएपछि महराको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए। अन्य अधिवक्ताको बहस सोमबार भएकाे थियाे।
महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।
यसअघि, कात्तिक ७ गते काठमाडौं जिल्ला अदालतले महरालाई थप ७ दिन अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको थियो। २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबार महराविरुद्ध मुद्दा दायर गरिएको थियो।
गत असोज १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसलगत्तै उनलाई पक्राउ गरिएको थियो।
हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। असोज ३ गते उनलाई नर्भिकबाट सिधै जिल्ला अदालत लगिएको थियो। त्यसपछि उनलाई ५ दिन म्याद थप गरिएको थियो।
महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन्।
महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।
गत असोज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिटसमेत गरेको उनले आरोप लगाएकी छिन्।
महराले असोज १३ गते सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
यसैबीच, कात्तिक ३ गते आइतबार जिल्ला अदालतमै उपस्थित भएर रोशनी शाहीले प्रहरीलाई दिएको जाहेरी झुटो भएको बयान दिएकी छिन्।
उनले प्रहरीले पूर्व सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।
काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।