बुटवल । नेपाली काङ्ग्रेसले पार्टी नेतृत्वको कमजोरीका कारण सरकारको नेतृत्व गर्ने अवसरबाट बञ्चित हुनुपरेको निष्कर्ष निकालेको छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज बुटवलमा बसेको नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले यो अवस्था आउनुमा नेतृत्व जिम्मेवार रहेको भन्दै केन्द्रीय नेतृत्वप्रति असन्तुष्टी प्रकट गरेको हो ।
सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको बैठकको ठहर छ ।
प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । पार्टी नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको बैठकको ठहर रहेको प्रदेश सभापति अमर सिंह पुनले जानकारी दिनुभयो ।
उहाँले जनताले दिएको म्यान्डेट र भावना बमोजिम नेतृत्व चल्न नसक्दा यो अवस्था सृजना भएको बताउनुभयो ।
बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति गठन गरेको छ ।
प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णुकुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति बनाएको छ ।