बुटवल-गृहमन्त्री रामबहादुर थापा सुरक्षा समितिको बैठकका लागि बुटवलमा छन् । कुनैबेलाका उनकै सहयात्री/सहयोद्धा नेत्रविक्रम चन्द विप्लवको दललाई प्रतिबन्ध लगाएपछि उनीहरुबीच चर्को द्वन्द्व छ ।
गृहमन्त्री थापा जहाँ जहाँ जान्छन् त्यहाँ अवरोध गर्ने, विरोध गर्ने र कुनै न कुनै रुपमा आफ्नो उपस्थिति जनाउने गरेको छ विप्लवको दल नेकपाले ।
यही सुरक्षाको विषयमा समीक्षा गर्न, सुरक्षा अधिकारीहरुको व्रिफिङ सुन्न बुटवलमा आएका थापालाई विप्लवको दलले चुनौती दिएको छ रातारात पोष्टर टाँसेर ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।
थापाको सुरक्षाका लागि चोकचोकमा प्रहरी परिचालन गरिरहेकै अवस्थामा विप्लवको दलको युवा संगठन नेपाल मध्यपश्चिम कमाण्डले मिलनचोकमा पोष्टर टाँसेपछि प्रहरीलाई टाउको दुखाएको छ ।
कडा सुरक्षा निगरानी रहेको अवस्थामा विप्लवको दलको प्रचारमा पोष्टर टाँस्दा अनुसन्धानका अधिकारीहरु र प्रहरी अधिकारीहरु चुकेपछि एकाएक सुरक्षा निकायमा खलबली मच्चिएको हो ।
मिलनचोकका स्थानीयले पोस्टर टाँसेको देखेर पत्रकारलाई खबर गरेपछि प्रहरी अधिकारीहरुसँग सुरक्षा चुनौतीबारे जानकारी लिँदा मात्रै उनीहरुले पोष्टरबारे जानकारी पाएका थिए ।
नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी बुटवलमा जारी छ ।
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीमा सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीहरु लगायतका विषयमा चर्चा गर्दै दन्डहिनताको अन्त्यका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए।
गौतम वुद्धको जन्मस्थल शान्तिको प्रतीकको रुपमा चिनिएको सन्दर्भमा नेपाल प्रहरीले कानुनको उचित कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गरी शान्तिको प्रतीकलाई थप चिनाउने काम गरेको उनले उल्लेख गरे।
विभिन्न बक्ताहरु समेतले आ-आफ्नो मन्तव्य व्यक्त गरेको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
मंगलबार सम्पन्न हुने उक्त गोष्ठीमा सोमबार गृहमन्त्रीका सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सिताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।