काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल र जनपक्षीय बनाउन नेकपा एमालेले सबै प्रकारका सहयोग गर्ने बताउनुभएको छ ।
नेकपा एमाले संसदीय विभागले आज संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिलाउन र सरकारका कामहरू प्रभावकारी बनाउन एमालेले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालमा नेपाली आफैले सरकार चलाउनै नसक्ने गरी वैदेशिक चलखेल र हस्तक्षेप हुने गरेको बताउनुहुँदै वर्तमान सरकार त्यसको विरुद्ध उभिने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपालमा आफु अनुकूलको सरकार बनाउने प्रयास गर्नुभन्दा बनेको सरकारको अनुकूल हुने गरी सहकार्य गर्ने नीति लिन मित्र राष्ट्रहरूसँग आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले जनताले मन नपराउने कुनै पनि गतिविधिमा संलग्न नहुन र विषयगत विज्ञताका साथ संसद् र संसदीय समितिहरूमा भूमिका खेल्न सांसदहरूलाई निर्देशन समेत दिनुभयो ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम भोलि सम्म चल्ने छ ।