काठमाडौं-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालमा पशुपन्छीमा लाग्ने विभिन्न रोगलाई अब वैज्ञानिक र आधुनिक ढङ्गबाट उपचार गरिने बताएका छन्।
केन्द्रीय रिफरल पशु चिकित्सालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले पशुपन्छीलाई संरक्षण गर्दै सो क्षेत्रमा थप सेवा विस्तार गरी जनतालाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।
कोभिड–१९ ले विश्व नै आक्रान्त बनेको अवस्थामा अब नेपालमा कृषि क्रान्ति गर्नुको विकल्प नभएको उनको भनाइ थियो। मन्त्री भुसालले पशुपन्छीको विकास र संरक्षणमा लाग्नसमेत सबैलाई आग्रह गरे।
पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले केन्द्रीय रिफरल पशु चिकित्सालयको भवन निर्माण हुनु आधुनिक ढङ्गबाट पशुको सेवा गर्न भेटेरिनरी सेवाका लागि कोसेढुङ्गा सावित हुने बताए।
उनले चिकित्सालयले आगामी दिनमा आधुनिक सेवा दिने विश्वास व्यक्त गरे। चिकित्सालयका प्रमुख पशु चिकित्सक डा टङ्कप्रसाद प्रसाईंले सरकारलाई पशुपन्छीको क्षेत्रमा लगानी गर्न आग्रह गर्दै चिकित्सालयबाट हुने आन्दानीलाई पशुकै विकासमा लगाउन आग्रह गरे।
पशुपन्छीको क्षेत्रमा गहनरूपमा अध्ययन/अनुसन्धान हुन सकेको खण्डमा तिनीहरुको उपचारमा सहजता ल्याउन सकिने उनको भनाइ थियो। करिब रु १६ करोडको लागतमा त्रिपुरेश्वर, काठमाडौँमा आठ रोपनी जग्गामा पाँच तले चिकित्सालयको भवन निर्माण गरिएको हो।