काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, पार्टी एकता लगायतका विषयमा छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको समसामयिक प्रतिवेदन माथि धारणा राख्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्नुपर्नेमा नेताहरूले जोड दिनुभएको हो ।
पार्टीमा छिट्टै कार्य विभाजन गरेर पार्टीलाई सरकारसँग जोड्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा बोलेका कुराहरूलाई पुरा गर्न पार्टीलाई सही भूमिकामा अघि बढाउने लगायतका विषयमा नेताहरूले जोड दिनुभएको नेकपा माओवादी केन्द्रका नेता एवं स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता सम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले सङ्गठन सम्बन्धी प्रतिवेदन र नेता गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धी प्रतिवेदन आज पेश गर्नुभएको थियो ।
यसअघि बिहीबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा प्रतिवेदन पेश गर्नुभएको थियो ।
यी सबै प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । पार्टीको केन्द्रिय समिति लगायतका विभिन्न समितिको कार्य विभाजन लगायतका विषयमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा १६ गते बिहान ११ः०० बजे पुनः बताइएको छ ।