काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सधैँ सत्तामा रहनुपर्छ भन्ने मानसिकताका कारण देशको राजनीतिले स्थिरता पाउन नसकेको र जनताको अपेक्षा अनुसार विकास निर्माणका कामले गति लिन नसकेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले देशको आर्थिक अवस्था सुधारका लागि वर्तमान सरकारले काम सुरु गरिसकेको उल्लेख गर्नुहुँदै आर्थिक समृद्धिका लागि सरकारको स्थिरता अनिवार्य रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देशलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि जनताको अपेक्षा पूरा गर्नेगरी इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
उपसभापति गुरुङले देश गम्भीर आर्थिक सङ्कटतर्फ धकेलिँदै गएको उल्लेख गर्नुहुँदै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, सङ्घीयतालाई बलियो बनाउने र आर्थिक समृद्धि हासिल गर्ने जस्ता साझा लक्ष्य हासिल गर्न अहिलेको सरकार राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न चाहेको बताउनुभयो ।
यसअघि बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउ बिजनको सहज उपलब्धता गराउनुपर्ने, सडक निर्माण एवं विकास निर्माणका कामलाई गति दिनुपर्ने, भारतसँगको खुला सिमानाबाट सिर्जित समस्या समाधान गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।