धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
उहाँलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत गुमाई पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा(३) बमोजिम काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नवनियुक्त मुख्यमन्त्री शाहले अव एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
यसैगरी, आजै नवनियुक्त मन्त्री द्वय प्रकाशबहादुर देउवा र नरेश कुमार शाहीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । देउवा नेपाली काँग्रेस र शाही नेकपा एकीकृत समाजवादीबाट मन्त्रीमण्डलमा सहभागी हुनु भएको हो।