काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको आज बसेको बैठकले २०८० वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रवि लामिछानेको नागरिकता विवाद भई मुद्दा परेपछि सर्वोच्च अदालतको आदेश आएसँगै रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो ।
नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था भएबमोजिम रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गर्नुपर्ने भएकाले आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।