उमाकान्त झा प्रदेश प्रमुखमा नियुक्त भएर गत ७ माघमा प्रदेशको अस्थायी राजधानी बुटवल आएका थिए । उनी बुटवल आउँदा उनको स्वागतमा खचाखच भीड थियो । उनले पदबहाली गर्ने तत्कालीन रुपन्देही व्यापार संघको भवनमा पुग्न बाक्लो भीड छिचोल्नुपरेको थियो ।
तर त्यसको २२ महिनापछि सरकारले उनलाई पदमुक्त गर्यो । पदमुक्त भएर प्रदेश सरकारले उनलाई बिदाई गर्ने कार्यक्रममा भने उनलाई बिदाईको हात हल्लाउन जानेहरुको संख्या भने न्यून थियो ।
मुख्यमन्त्री शंकर पोखरेल पनि बिदाई कार्यक्रममा सहभागी थिएनन् । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, कृषिमन्त्री आरती पौडेल बाहेकका अरु मन्त्रीहरु पनि उपस्थित भएनन् । सभामुख, उपसभामुख पनि आएनन् । मुख्यमन्त्री दाङमा कार्यक्रममा थिए भने अन्य मन्त्रीहरु रुपन्देहीमै भएर पनि कार्यक्रममा आएनन् ।
कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका कर्मचारी, मन्त्रालयका सचिवहरु र केही कर्मचारीहरुमात्रै थिए ।
प्रदेश प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले धन्यवाद दिए । अरुले बिदाईको माला लगाइदिए । सामुहिक तस्वीर खिचाए र बिदा भए । झा बुधबार नै सडक मार्ग भएर काठमाडौ फर्किदै छन् ।
झाले जाँदाजाँदै भने-संविधान कार्यान्वयनमा भूमिका खेल्न पाएकोमा खुशी छु
प्रदेश ५ को प्रदेश प्रमुखबाट बिदाई हुँदै गर्दा उमाकान्त झाले संविधान कार्यान्वयनमा सकारात्मक भूमिका खेल्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै झाले आफुले संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्न साथ दिने सबैलाई धन्यवाद दिए ।
'म यहाँ करीब २२ महिनाजति बस्दा मैले पाएको जिम्मेवारी संविधानले दिएको अधिकार र मर्मअनुसार काम गरेँ, यसमा सबैको सकारात्मक साथ रह्यो, उनले भने-मलाई साथ दिने सबैलाई म सम्झिरहनेछु, संविधान कार्यान्वयनलाई संघीयताको मर्म अनुसार अघि बढ्नेमा विश्वास लिएको छु ।'
उनले मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेकाले सबैलाई साथसाथै लिएर अघि बढ्नुपर्ने बताए ।

