बुटवल । लुम्बिनी प्रदेशकै धेरै विद्यार्थी भएको बुटवल वहुमुखीमा क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको जित सुनिश्चित भएको छ ।
कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । २१ सय ५५ मत गणना हुंदा अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवास भन्दा चार सय बढी मतले अगाडि रहनुभएको छ ।
नेपाल बिद्यार्थी संघका सागर पौडेल तेस्रो स्थानमा हुनुहुन्छ । यहां राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका बरन्यम राज गौतमको नेतृत्वमा एउटा प्यानल,अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका क्रान्तिकारी बिप्लवका पदम पराजुलीको प्यानल र अखिल क्रान्तिकारी बहुमतका पारस राहादीको प्यानल गरी ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।
त्यसैगरी सचिव पदमा अनेरास्ववीयुका उम्मेदवार निलकन्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववीयुका शशांक बस्याल निकटतम प्रतिस्पर्धी भन्दा चारसय मत अन्तरले अगाडि हुनुहुन्छ ।
यस्तै सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत नै फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । अब गन्न ५२६ मत मात्रै बांकी रहंदा ४ सय बढी मतान्तरले अनेरास्ववियुको पयानल अगाडि रहेकाले जित निश्चित भएको हो ।