काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्नुहुँदै उहाँले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानुन, सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतका आदेशसमेतको आधारमा विधेयक अघि बढाइने उहाँको भनाइ छ ।
“यो कुनै दलविशेषको मुद्दा वा सरोकार नभइ मुलुकले समाधान गर्नुपर्ने राष्ट्रिय विषय हो” उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गर्नेछ ।”