काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माग्नुभएको विश्वासको मतलाई समर्थन गर्दै सभापति देउवाले मिश्रित निर्वाचन प्रणालीमार्फत समावेशी चरित्रको समाज निर्माण गर्ने उद्देश्यलाई सार्थक तुल्याउन गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प नभएको बताउनुभयो ।
सभापति देउवाले संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिको पक्षमा सधैँ उभिएको र उभिइरहने वाचा गर्नुभयो ।
सभापति देउवाले अब हाम्रो ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रित गर्नु हुँदैन भन्दै सरकार र संसदबाट नेपाली जनताले गरेको अपेक्षा पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साँझा लक्ष्य हो भन्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षा आजको आवश्यकता भएको बताउनुभयो ।
सभापति देउवाले संविधानको सार्थक कार्यान्वयनका नीति र कानून निर्माण गर्नुका साथै देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न आवश्यक रहेको औल्याउदै अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभयो ।