काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
सोमबारसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । माओवादीले संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमासमेत छलफल गरेको छ । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताले जोड दिनुभएको सचिव पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एउटा संसदलाई सुचारु गर्ने बारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुन पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याबिनेटको विस्तार बढीमा पर्सीसम्म गरेर डेलिभरीका काम सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो ।’’
बैठकमा सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भएको उहाँको भनाइ छ । ‘‘गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषय पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकार पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भयो ।’’
बैठकमा नेताले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।