बारा । बारा क्षेत्र नं. २ को उपचुनावमा मतदान जारी रहेको बेला एक जनाले छाप लगाइएको दुईवटा मतपत्र खसाल्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका नेता रामसागर यादव भएको प्रहरीले जनाएको छ । छाप लगाइएको दुईवटा मतपत्र लिएको पाएपछि यादवलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।देवताल गाउँपालिका वडा नं. ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा यादवसँग दुईवटा मतपत्र फेला परेको थियो ।
जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । नमुना मतपत्र पनि मतपेटिकामा खसाल्न लागेकोले प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।
पक्राउ परेका यादवलाई साँझ ५ बजे पछि छोडिने प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो । यस्तै सोही गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदान केन्द्रमा हो–हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।