दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ ।
आज बिहान ११ः०० बजे बसेको प्रदेशसभा बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मत मात्र खसेपछि पदमुक्त हुनुभएको हो ।
गिरीको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर गिरीले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मत मात्र पाउनुभयो । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एक जना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।
माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार गिरीले विश्वासको मत लिन लिनुभएको हो ।