बुटवल । लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि बहुमतको सरकारबाट बाहिरिएको नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ ।
विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । यसअघि ८ दलका ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दावी पेश गरिसकेका छन् । यद्यपि सरकार आलोपालो गर्ने विषयमा ती दलमा अझै कुरा नमिलेको बताइएको छ ।
एमाले दलका नेता रहेका मुख्यमन्त्री गिरीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आव्हान गर्न आग्रह गरिएको बताउनुभयो । यसअघि दलको कार्यालय देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताउनुभयो ।
चौधरीले प्रदेश प्रमुख धारा ३ अनुसार जान नमिल्ने जिकिर गर्दे आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भएपनि ठूलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताउनुभयो । उनले भन्नुभयो, ‘संविधान अनुसार नै हामीले अर्को सरकार गठन गर्ने हो त्यसमा प्रदेश प्रमुख अर्को धारामा जान मिल्दैन ।’
एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दावी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।
एमाले र राप्रपाबाहेक सबैले विपक्षमा मतदान गरेका थिए । लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण पाएसँगै प्रदेश प्रमुखले गिरीलाई कामचलाउको जिम्मेवारी दिएका छन् । प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अनुसार आव्हान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरुसँग छलफलमा रहेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।