बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई आज संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ८ दलको समर्थनमा चौधरीले आजै दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।
गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।