काठमाडौँ । नेकपा (एमाले)संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्याउने जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।
“हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौँ । तर छानबिनका क्रममा कुनै पनि पूर्वाग्रह नराखियोस्, छानबिनलाई सहयोग गर्छौँ, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ”, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भन्नुभयो ।