काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आएका सुझावहरूलाई समेटेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रवार संघीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले भ्रष्टाचार निवारण गर्न सकरकारले ल्याएका नीति तथा कार्यक्रम राम्रो भएको भन्दै यसको कार्यान्वयनका लागि विशेष योजना बनाउनु पर्ने बताउनुभयो ।
सत्ता पक्षीय दलका सांसदहरुले समस्याको पहिचान गरेर नीति तथा कार्यक्रम कार्यान्वयन गराउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिपक्षी दलका सांसदहरूले अहिलेको आर्थिक अवस्था सुधारका लागि संरचनामा सुधार आवश्यक रहेको भन्दै सरकारले गतिशिल नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनु भयो ।
सांसदहरूले राज्यले ल्याउने नीतिमा स्थायित्व हुनु पर्ने, खुला सिमानाको व्यवस्थापन गरिनु पर्ने, कालोबजारी रोक्नु पर्ने, उत्पादन वृद्धि र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने खालका कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।
यसैगरी सांसदहरुले बढिरहेको भ्रष्टाचार न्यूनीकरण गर्नु पर्ने, भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याएर निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ ।