काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ ।
१६ औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र भएको बताउँदै नेपाली समाज अनुकूलको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताउँदै संविधान र व्यवस्थाअनुरूप गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्न जनताको जीवन र व्यवहारसँगै जोडेर लैजानुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेको बताउँदै यो कुनैपनि हालतमा सफल नहुने बताउनुभयो ।
उहाँले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
नेपाली जनताको लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आजको दिनलाई डेढ दशकदेखि गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।
विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमति अनुसार वि.सं २०६४ चैत २८ गते भएको ऐतिहासिक संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।