काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दीर्घकालीन हित र द्विपक्षीय सम्बन्ध बढाउन आफ्नो चार दिने भारत भ्रमण महत्वपूर्ण र सफल भएको सदनलाई जानकारी गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्त्वका विषयमा सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले दीर्घकालीन हित र द्विपक्षीय सम्बन्धका विषयमा विभिन्न ७ वटा दस्ताबेजमा सम्झौता गरी समझदारीपत्र आदान–प्रदान भएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भएको भेटमा व्यापार, पारवाहन, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार, रेल्वे सेवा सञ्चालन कार्य, पुलहरूको निर्माण तथा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा अर्थपूर्ण रहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई मार्गका विषयमा सकारात्मक र जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने बलियो सहमति निर्माण भएको जानकारी गराउनुभयो ।
सदनमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतले संसदमा राखेको नक्साको विषयमा कुरा उठाउँदा भारतले राजनीतिक नक्सा नभई ऐतिहासिक र सांस्कृतिक नक्सा भएकाले त्यसै रुपमा लिनुपर्ने बताएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले तराई क्षेत्रको भूमि डुबानको समस्या समाधान, हवाई मार्ग र कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सीमा समस्या समाधानका विषय चाँडो टुङ्गो लगाउने विषयमा दुई देशका प्रधानमन्त्रीकै बीचमा प्रष्ट छलफल र प्रतिबद्धता भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक संवैधानिक प्रावधान अनुसार नै प्रमाणीकरण भएकोमा अनावश्यक ढंगले उछाल्न नहुने बताउनुभयो ।
प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरुले भारतको संसद् भवनमा राखिएको नक्सा, कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषय, नागरिकता विधेयक भ्रमण अघि नै ल्याउनुपर्ने कारणबारे जिज्ञासा राख्नुभएको थियो ।
यस्तै सांसदहरुले इजिपी प्रतिवेदन, १९५० को सन्धि, कालापानीमा भारतीय सेना हटाउने विषय, भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबारे किन कुरा उठाइएन भन्दै प्रश्न गर्नुभएको थियो ।
यसअघि, शून्य समयमा सांसदहरुले कर बढ्दै गरेको सूचना बाहिर ल्याउनेलाई कारबाही गर्न, संसदीय मर्यादा कायम हुन नसकेको, सडक दुर्घटना, गौरबको आयोजना र अलपत्र सडक निर्माणका विषयमा ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले महँगी बढेको, जनप्रतिनिधिप्रति जनआक्रोश बढ्दै गएको प्रति सभाको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल हुने र राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको ब्यहोराको पत्र सभालाई जानकारी गराउने कार्यसूची रहेको छ ।