दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरी नेकपा निर्माणको तयारी भइरहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा निर्माण गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले समाजवादी क्रान्तिको लागि संयुक्त समाजवादी मोर्चाको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो “समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ । नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो ।”
प्रचण्डले भन्नुभयो “हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन । फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्ताबेज टुङ्गाएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबिच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।”