काठमाडौं । सरकारले धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान चौरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको हक हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माण तथा पर्यटन प्रवद्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा स्थानीयलाई हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल चीन सीमा क्षेत्रमा पर्ने तातोपानी झ्याङ्मोमा हराएको सीमा स्तम्भलाई यथास्थानमा पुनर्स्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकमा हालै मात्र पूर्वी नेपालका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण पुगेको क्षति तथा उद्धार र राहतका विषयमा समेत छलफल भएको मन्त्री शर्माले बताउनुभयो ।