काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० को मन्त्रालयगत रूपमा विभिन्न शीर्षकहरूमाथिको छलफल आज पनि जारी रह्यो ।
विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल अन्तर्गत आज भएको युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटको छलफलमा भाग लिनुहुँदै सांसदहरूले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनका लागि छिटो आवश्यक कानुन बनाउन माग गर्नुभयो ।
संविधानमा मौलिक हकमै राखिएका विषयका कानुन संविधान जारी भएको आठ वर्षसम्म बन्न नसक्नु दुःखद् भएको पनि सांसदहरूले बैठकमा धारणा राख्नुभयो । सांसदहरूले छिटोछरितो न्याय, सबैका लागि न्यायको नारा अनुसारको व्यवहारमा कार्यान्वयन गर्नु जरुरी रहेको, वैज्ञानिक आधारलाई जोड दिँदै बजेटको व्यवस्थापन गरेर देशमा आमूल परिवर्तन हुने गरी काम गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै सांसदहरूले २०२८ सालको शिक्षा ऐन अझै संशोधन नहुनुले दुई थरीको जनशक्ति निर्माण भइरहेकोतर्फ सरकारको ध्यान जानुपर्ने, २०७७ सालमा जारी भएको खेलकुद ऐन, बृहत रूपमा आउन नसकेको भन्दै खेलकुद परिषद्लाई राजनीतिक अखडाका रूपमा राख्न नहुनेमा जोड दिनुभयो ।
सांसदहरूले कृषि र किसानलाई प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर बन्दै निर्यात गर्ने अवस्थासम्म नेपाललाई पुर्याउन अब विशेष अभियानकै आवश्यकता रहेको पनि धारणा राख्नुभयो । यस्तै सांसदहरूले अब नेपालमा मल कारखाना स्थापनाको कुरा मात्र होइन कि साँच्चिकै स्थापना गरेर मलको परिपूर्ति गर्नु जरुरी रहेको, बाटोघाटोलाई दोस्रो प्राथमिकतामा राखेर भए पनि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु आवश्यक रहेको बताउनुभयो ।
यसअघि बैठकको शून्य समयमा सांसदहरूले चितवन राष्ट्रिय निकुञ्ज छेउका बस्ती जङ्गली जनावरको आक्रमणको जोखिममा रहेको, जन्मसिद्ध आमाबाबुका सन्तानलाई नागरिकता दिनुपर्ने, बाढीपहिरोबाट पीडितको उद्धार र राहत लगायतका माग राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकले हिजो सवारी दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को र्बैठक भोलि बिहान ११ बजे बस्नेछ ।