काठमाडौं। नेपाली कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले अब अनलाइनबाटै सदस्यता लिन पाउने भएका छन् ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर ललितपुरमा मंगलबार बसेको बैठकले अनलाइनबाट सदस्यता प्रदान गर्न सुरु गरेको हो ।
कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्नेछन् ।
सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ ।
यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने गरी सहज व्यवस्था गरिएको हो ।